हरायो

कविता
..........
हरायो
...........
हरायो त्यो पिपलको पात
अाँखा नजिकबाट
हरायो एकाएक घाम।
हरायो तारा हरायो
अब हराउनेछ बिस्तारै अाकाश पनि
अनि हरउनेछन् बिस्तारै बिस्तारै सपनाहरू पनि।

हराउने क्रममा बिस्तारै बिस्तारै
अाँखाहरू पनि हराउने छन्
भविष्यका रंगिन इन्द्रेणीहरू पनि हराउनेछन्
र विस्तार विस्तार टोपी हराउने क्रममा छ
र विस्तरै बिस्तारै
टोपी जोड्ने धागो पनि हराउने क्रममा छ।
टोपी तुन्ने सियो पनि हराउने क्रममा छ
जे जे र जसो जसो हराए पनि
सिंगो घर बोकेको फलाँठको खाँबो नहराए हुनेथियो
तर यसमा पनि माऊ लागिसकेको छ
माऊले कुटु कुटु खाँदै गइरहेछ ।


धमिलो तुवाँलो उठेर छेकिरहेछ हाम्रो पाठशाला
जहाँ नानाीहरूलाई
कपुरि "क"कान्दानि "का" पढाइन्थ्यो
ऐले कुन्नि के के पढाउन थालिएको सुन्छु
मात्रिभावलाई अब म कुन कालो पाटिमा छुन्छु
अामाको प्रेम र ममतालाई म कुन पाठशालामा भेट्छु
नानीहरू भनिरहेछन्।
नानीहरू रोइरहेछन्।

खेतको अाली चिरेर थुप्रै थुप्रै समाहाहरू बगे
परेलीहरू जो अाफ्ना थिए बगे र हराए
मेला पातका पिपिरीपातको बाजा ,सुसेलो हरायो
मर्चुङ्गा र बिनायो हरायो
सारंगी हराउने क्रममा छ
हरँउदा हराँउदै खेतका अाली कान्ला हराउने क्रममा छन्
हराँउदा हरँउदै कान्छीहरूको हुलिया हराउने क्रममा छ।

मेला बजारको धाननाच हरायो
पालुङ् हरायो
अब फेदाङ्वाको मुन्दुम हराउने क्रममा छ
विजुवाको उँधौली उँभौली हराउने चेष्टामा छ
गोठधुपहरू त उहिले कहिले हराए
अब विस्तार विस्तार दियाली पनि हराउन सक्छ
बिस्केट र गठे मगंल माथि पनि कर्के नजर लागिसकेको छ
गुठी पनि भत्काइने जमर्कोबाट बाँचेको पो होकी?
के बेर कति कति मुर्ति हराए
न्यातपोल सिंगै हराउन सक्छ
चाँगु नारायण सिंगै पुरिन पनि सक्छ
के बेर गोसाइँकुण्ड र अरू थुप्रै थुप्रै पोखरीहरू पुरिन सक्छ
बिना लगामको घोडा दौडिरहेको छ
बिना ब्रेकको टिपर हुँइकिएको छ।

हरायो त्यो पिपलको पात अाँखा नजिकबाट हरायो
घाम हरायो
जुन हरायो
सिंगो निलो अाकश हराउला कि?
टोपी हराउला कि?

Niroula Udayaraj
(C) All Rights Reserved. Poem Submitted on 04/23/2020 The copyright of the poems published here are belong to their poets. Internetpoem.com is a non-profit poetry portal. All information in here has been published only for educational and informational purposes.