घलेबा
घलेबा र घलेबाहरू
...........................
मालबाँसको सुकिलो
चोया र बाता भन्दा पनि सुकिलो
लाग्छ मलाई बाघवीरे घलेबाको सीप र सिर्जना
किनकि उनी त्यही चोयबाताले
सजाइदिन्थे नानीहरूका शुन्दर सपनाहरू ।
बाँस मानिसको छाता हुन्थ्यो
उनका हातमा
बाँस मानिसको बास बन्थ्यो उनका सीपमा
सिंगै वर्षा अोताँउथ्यो गाऊँमा ।
विस्कुन सुक्थ्यो भविष्यको अाँगनमा
पुस्तक किन्थ्यो नानीहरूको
वत्ति वाल्थ्यो नानीहरूको अाँखामा
उनको सीप सुटुक्क छिर्थ्यो
कैँया साहुको पसलमा
र निस्कन्थ्यो
नानीहरूको सिंगै चाड भरेर झोलामा।
उनी हाम्रा हेडसरले मन पराएका कलाकार
उनी हाम्रा अाँखामा कैद भएका कलाकार
कती चिटिक्कको थुन्से भरेर अाँउथिन् माल्दिदी
बेंसीबाट
घलेबाको सीप बोकेर।
कुनै आर्किटेक्टको रोटरिङ् पेनले
खिपेको देखिएन
घलेबाको जस्तो अब्बल कला
जसले स साना नानीहरूको भविष्य
उठाएको होस
जसले सिंगो गाँऊलाई अोताएको होस
अाफूलाई भर्याँङ बनाएर
धेरै अरूहरूलाई माथि माथि पुर्याएको होस
अाफ्ना तमाम इच्छालाई
चोया र बातामा भिजाएको होस
कर्दले पुक्लुक्क उठाएका ठेलाहरूमा
सिंगो जीवन उभ्याएको होस्।
अब्बल कलाकार घलेबा र घलेबाहरू
हाम्रा देशका
कहिल्यै सम्मान र पुरस्कारको भोकमा
कला सजाएनन्
कहिल्यै कुनै विज्ञापन पढेर
निवेदन हालेनन् मानका खातिर
अब्बल दर्जाका पुजनीय कलाकार घलेबाहरू
उनीहरूको उपस्थिति खोज्दै उभिएर जधौ गरिरहन्छन्
सदैव गाँऊघरतिर परेड खेलिरहेका
पंङ्तिबद्ध बाँसहरू
कहिल्यै नविर्षने
नहराउने घलेबाहरू।
Niroula Udayaraj
(C) All Rights Reserved. Poem Submitted on 04/23/2020
The copyright of the poems published here are belong to their poets.
Internetpoem.com is a non-profit poetry portal. All information in here has been published only for educational and informational purposes.